Tara Devi
स्वर किन्नरी तारादेवी:
नेपाली महिला गायनमा सर्वाधिक रुचाइएकी गायिका हुन् तारादेवी । उनले गाएका अधिकांश गीतहरु श्रोताको ढुकढुकी छुन सफल छन् । मनै हर्ने कर्णप्रिय आवाजका कारण सम्पूर्ण नेपाली श्रोताहरुले उनलाई स्वर किन्नरीको उपाधिले सम्मानित गरिसकेका छन् । आफ्नो मनको सिंहाशनमा सजाएर राखेका छन् ।
वि.सं. २००२ साल माघ २ गतेको मुटु कमाउने जाडोले सारा काठमाडौँबासी दिक्क मानिरहेका थिए । तर इन्द्रचोकमा सामान्य पानपसल गरी जीवनयापन गरिरहेका कृष्णबहादुर कार्की र राधादेवी कार्कीका लागि भने यो दिन विशेष दिन थियो । कारण यही दिन उनीहरुको घरमा तारादेवीले पहिलो सन्तानको रुपमा जन्म लिएकी थिइन् । उनीपछि कार्की परिवारमा भाई शम्भु र बहिनी बिनु थपिए । बिस्तारै तारादेवी बढ्दै गइन् । बाल स्वभावअनुरुप टोलका अन्य बच्चाहरुसँग खेलेर समय बिताउन थालिन् ।
घर छेउकै भैरवथानमा दिनहुँजस्तो भजन मण्डली बस्थ्यो । बुबा कृष्णबहादुर तबलावादकको रुपमा फूपु नूरादेवी भजन गायिकाको रुपमा भजनमा सरिक हुन्थे । तारादेवी पनि कहिलेकाँहि टुप्लुक्क त्यहाँ पुग्थिन् र भजनमा स्वर खाप्न शुरु गर्थिन् । फूपु नूरादेवी त्यसबेलाकी नाम चलेकी गायिका थिइन्, तारादेवीकी फूपुको स्वर सुनेर लट्ठ पर्थिन् । फूपुको गीत र बुबाको तवलावादन सुनेर उनले पनि सङ्गीतमा लाग्ने निर्णय गरिन् । घरमा गुन्गुनाउन थालिन् । छोरीको यस रुचिलाई नियालिरहेका बुबाले उस्ताद भैरवबहादुर थापासँग संगीत सिक्ने व्यवस्था मिलाइदिए ।
छ सात वर्षो उमेरमै तारादेवी उस्ताद भैरवबहादुर थापाको हात समाउदै रेडियो नेपाल पुगिन् । त्यहाँ उनले थुप्रै बालगीतहरु गाइन् । बालगीत गाएवापत् तारादेवी त्यसबेला रु.५ देखि रु.१० सम्म पाउँथिन् । उनका यी सबै बालगीतहरु रेडियो नेपालबाट प्रत्यक्ष प्रसारण हुन्थे । गीत गाउने क्रममा २०१२ सालमा श्यामदास वैष्णवको शब्द र भैरवबहादुर थापाको सङ्गीतमा थापासँगै तिमी र हामी भेटौला फूलबारीको छेउमा बोलको युगल गीत पहिलोपटक रर्ेकर्ड गराइन् । बिस्तारै उनको स्वरको ख्याति रेडियो नेपालमार्फ् देशव्यापीरुपमा फैलिन थाल्यो । २०१५ सालअघिसम्म करार सेवामा गीत गाइरहेकी तारादेवी २०१५सालदेखि गायिका कलाकारको रुपमा रेडियो नेपालमा नियुक्त भइन् । यसै बीचमा उनले विश्व निकेतन मावि त्रिपुरेश्वरबाट एसएलसी पास् गरिन् । पर्ढाईमा भन्दा सङ्गीतमा बढी रुचि भएकी तारादेवीले पछि पर्ढाईलाई अगाडि बढाइनन् ।
रेडियो नेपालमा खरदारसरहको पदबाट नियुक्त भएको केही समयपछि तारादेवीको सुब्बास्तरीय गायिकामा बढुवा भयो । उनले तीस वर्षसम्म सुब्बाको कुर्सी बसी नेपाली सङ्गीतको सेवा गरिरहिन् । जागिरसँगै तारादेवीले सङ्गीतको शिक्षालाई पनि अगाडि बढाइन् ।
गोलो सुन्दर अनुहार, दुइचुल्ठे बाटेको कपाल, निधारमा टीका, कूर्तासुरुवालसहितको पहिरन- यो तारादेवीको युवा अवस्थाको स्वरुप हो । घर बस्ता पनि निकै चिटिक्क भएर बस्न मन पराउने तारादेवीको स्वर र रुपको प्रशंसा नगर्ने कोही थिएनन् त्यसबेला । सबैको आँखाको प्रिय बनेकी तारादेवी आफूले चाहिँ कसलाई रोजिन् त !
एउटै टोलबासी भएका कारण तारादेवी र शिवबहादुर श्रेष्ठको पटक-पटक भेटघाट भइरहन्थ्यो ।
शिवबहादुर तारादेवीको मीठो स्वर र सुन्दरतामा लटि्ठएका थिए भने यता तारादेवीचाहिँ शिवबहादुरको सरल स्वभाव र जीवनलाई गम्भीर भएर सोच्ने तरिकाबाट प्रभावित थिइन् । भेटघाटकै क्रममा यी दुइबीच प्रेमको सुरुवात भयो तर यी दुवैले आफ्नो प्रेमसम्बन्धलाई गोप्य राखे । पान किन्ने बहानामा उनीहरुको पसलमा शिवबहादुर तारादेवीलाई भेट्न बारबार आइरहन्थे । यसैबीच शिवबहादुर पाइलट कोर्ष पढ्नका लागि बेरुत पुगे, तारादेवीचाहीँ सङ्गीतमा एकोहोरो लागिन् ।
२०२२ सालसम्म तारादेवी बीस वर्षी जवान युवती भइसकेकी थिइन् । उनको स्वर रेडियो नेपालमार्फत नेपाली श्रोताहरुको घर-घर पुगिसकेको थियो । धेरैले गीत सुनेकै भरमा उनलाई मनमनै मन पराउन थालिसकेका थिए । अनेक ठाउँबाट उनको घरमा विवाह प्रस्ताव आउन थाल्यो । उनीसँग विवाह गर्न चाहनेहरुको लस्कर लाग्न थाल्यो । बबा आमाले पनि विवाहका लागि उपयुक्त वर खोज्न थाले । तर शान्त स्वभावकी र केटाहरुसँग कम बोल्ने तारादेवीले १२-१३ वर्षो उमेरदेखि नै शिवबहादुरसँग प्रेम रहेको र उसैसँग मात्र विवाह गर्छु भनेर अड्डी कस्न थालिन् । शिवबहादुर पनि भर्खरै पाइलट कोर्षसिध्याएर आफ्नै खुट्टामा उभिएका योग्य व्यक्ति थिए । त्यसपछि त के चाहियो र – घरपरिवारको पनि रोजाई हुन समय कुर्नु परेन ।
२०२२ सालमा पारिवारिक सहमतिमा गुहृयेश्वरी मन्दिरमा शिवबहादुरसँग तारादेवीको अन्तरजातीय प्रेम विवाह भयो । यी दुइ दम्पतिबाट दुइ छोरा शशी, रवि र एक छोरी चारुको जन्म भयो । रेडियो नेपालको जागीर, श्रीमानको राम्रो कमाई र रहरलाग्दा तीन छोराछोरीका साथमा उनको जीवन सुखसँग चल्न थाल्यो ।
तारादेवीका श्रीमान् नेपाली समाजमा उच्चादारले हेरिने पाइलट थिए तर पनि उनले पाइलट हुनुको अहमता कहिल्यै देखाएनन् । तारादेवीको रुचिलाई हस्तक्षेप गरेनन् । श्रीमानको सहयोग र हौसला पाएर दिनप्रतिदिन प्रगति गर्दै गइन् । विवाहपछि नै २०३२ सालमा उनले प्रयाग सङ्गीत समिति, इलाहावादबाट शास्त्रीय सङ्गीतको गायनमा संगीत विशारद् गरिन् ।
खरदार सरहबाट रेडियो नेपालमा प्रवेश गरेकी तारादेवी राजा वीरेन्द्रको हुकुम प्रमाङ्गीबाट शाखा अधिकृत हुँदै उपसचिपस्तरीय गायिकामा समेत् नियुक्त भइन् । उनले त्यहाँ ४२ वर्षति समय बिताइन् । यस अवधिमा उनले ४००० जति गीतमा स्वर दिइन् । आधुनिक, चलचित्र, राष्ट्रिय, भजन-यी सबै विधामा उनको स्वर सशक्तरुपमा चलेको छ । उनले अधिकांश गीतहरु नातिकाजी, शिवशङ्करको संगीत र किरण खरेल अनि राममान तृषितको शब्दमा गाएकी छिन् ।
स्वाभिमानी तारादेवीले कहिले पनि मलाई सम्मान गर्नुपर्छ भनिनन् तर कसैले अपमान गरेको पनि सहेर बसिनन् । २०३६ सालतिर उनले गीत गाएको चलचित्र सिन्दुरको प्रथम पर््रदर्शन अशोक सिनेमा हलमा गरियो । चलचित्र हेर्न पुगेका अन्य सबै कलाकारहरुलाई प्रथम श्रेणीको पास दिइयो तर गायनमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी उनलाईचाहिँ तेस्रो श्रेणीको । आयोजकहरुको यस्तो अपमानजनक व्यवहारबाट दुःखी तारादेवीले आयोजककै अगाडि पास च्यातेर चलचित्रै नहेरी घर फर्किन् ।
तारादेवीले जस्तोसुकै अवस्थामा पनि सङ्गीतको वेवास्ता गरिनन् । दुइ महिनाको बच्चालाई माइतीको जिम्मामा छाडि गीत रेकर्ड गराउन कलकात्ता पुगेका कतिपय घटनालाई हेर्दा उनको सङ्गीतप्रतिको गम्भीरता बुझ्न सकिन्छ ।
२०३३ सालतिर सिन्दूर चलचित्रका लागि युगल गीत गाउन तारादेवी दुइ महिनाको छोरा रविलाई छाडेर कलकाता पुगेकी थिइन् । त्यो बेला उनले आफ्नो भागको गीतमा पहिला स्वर भरेर फर्किन्छु भन्दा नारायण गोपाल मान्दै मानेनन् । यसै विषयमा यी दुइबीच झगडा पर्यो र लामो समयसम्म बोलचाल बन्द भयो । त्यस्तै २०३७ सालमा नारायण गोपाल सांस्कृतिक संस्थानको महाप्रबन्धक भए । सम्पूर्ण कलाकर्मीमा गजबको उल्लास र खुशी छायो । तर त्यो हर्ष त्यो खुशी धेरै दिन टिकेन । बजेटको कमी र खर्च कटौतीका नाममा राष्ट्रिय नाचघरमा करार सेवामा कार्यरत तारादेवी, कुमार बस्नेतलगायत ४० जना जति कलाकारहरुको जागिर खुस्कियो । यस घटनापछि नारायण गोपाल र तारादेवीबीचको मनमुटाव झन् बढेर गयो । जीवनको अन्तिम क्षणसम्म पनि यी गायकगायिका राम्रोसँग बोलेको समकालीनहरुले देखेनन् ।
तारादेवीले गायन अवधिभर मुनामदन, मालती मङ्गले, शकुन्तला, अन्धबेग, राजकुमार विश्वम्भर जस्ता उत्कृष्ट गीतिनाटकहरुका साथै आमा, हिजोआजभोली, परिवर्तन, मनको बाँध, कुमारी, सिन्दुर, जीवनरेखा, २५ वसन्त, माया, शान्तिदीपजस्ता चर्चित नेपाली चलचित्रहरुमा पनि आफ्नो स्वर सजाइन् ।
गायिका तारादेवीको सङ्गीतकार नातिकाजीसँग एकदमै नजिकको सम्बन्ध थियो । नातिकाजी कुनै राम्रो सङ्गीत तयार पार्ने बित्तिकै तारादेवीलाई गाउन लगाइहाल्थे । तर २०३३ सालमा मनको बाँध चलचित्रको गीत रेकर्डिङको क्रममा तारादेवी र नातिकाजीबीच केही मतभेद उत्पन्न भयो र झण्डै तीन चार वर्षति बोलचाल बन्द भयो । यस अवधिमा तारादेवीले आफूले गाउने प्रायः सबै गीतको सङ्गीत आफैले भरिन् । गाउन सिपालु तारादेवी सङ्गीत सिर्जना गर्न पनि कम देखिइनन् । उनको स्वर र सङ्गीत र किरण खरेलको शब्द रहेको गीत जाने त गैगो, भैगो चिट्ठी आएन २०३३ सालमा रेडियो नेपालद्वारा आयोजित आधुनिक गीत सम्मेलनमा सङ्गीत र स्वर दुवै तर्फप्रथम भयो ।
आफ्नो जीवनको सम्पूर्ण उर्वर समय रेडियो नेपालमा खर्चेकी तारादेवीका अन्तिम क्षणहरु रेडियो नेपालमा त्यति सुखद् भएनन् । अचानक २०४७ सालको एकदिन उनलाई रेडियो नेपालको कर्मचारी हाजिरी खातामा हाजिर गर्न दिइएन अर्थात् उनलाई बिनासूचना बर्खास्त गरियो ।
रेडियो नेपालबाट पाएको अपमानको पीडा कम हुन नपाउदै ठीक त्यसको ४ वर्षछि उनको जीवनमा अर्को आँधि आयो । उनको जवान जेठा छोरा शशि रक्तक्यान्सरका कारण दिवङ्गत भए । त्यसपछि तारादेवी मानसिक रुपमा विक्षिप्त भइन् । यतिका विपत्तिपछि पनि उनको जीवनका अर्को हुरी आयो । २०५५ साल भदौ ५ गते उनका श्रीमान् शिवबहादुर हवाई दुर्घटनामा परी स्वर्गीय भए । रेडियो नेपालबाट निकालिनु, छोरा र पतिको मृत्यु हुनु उनका जीवनका अत्यन्तै कठिन क्षणहरु हुन् ।
तारादेवीले गायनयात्राको क्रममा नेपालका अधिकांश भेगका साथै भारत, रुस, कोरिया र इरानसमेत् पुगेर आफ्नो स्वरको जादू फैलाइन् । गीतसङ्गीतमा लागेर लामो समयसम्म नेपाली सङ्गीत र भाषाको सेवा गरेवापत् उनी महेन्द्र भूषण, सु.प्र.गो.द.वा.-प्रथम, जगदम्बा श्री पुरस्कार, छिन्नलता, इन्द्रराज्यलक्ष्मी प्रज्ञापुरस्कारजस्ता पुरस्कार र सम्मान पदकहरुले विभूषित भइन् । त्यस्तै जीवनको अन्तिम समयमा टुबोर्ग आउटस्ट्याण्डिङ अवार्ड र नेपाल टेलिभिजनबाट नातिकाजी सङ्गीत सम्मानबाट समेत सम्मानित भइन् ।
नेपाली सङ्गीतको सेवामा तारादेवीले कुनै कञ्जुस्याई गरिनन् अर्थात् उनको सेवामा औँला ठड्याउने ठाउँ छैन । तर दिनरात सङ्गीतमा मात्र तल्लिन भएका कारण उनले परिवारलाई चाहिएजति समय दिन सकिनन्, उनको घरमा उनलाई भेट्न आउनेहरुलाई तारादेवी घरमा छैनन् भनेर बेलाबेला उनका श्रीमान् शिवबहादुरले फर्काइदिने गर्थे । यसबाट सङ्गीतमा एकोहोरो लागेका कारण उनको पारिवारिक स्थितिमा केही मात्रामा चिसोपना आएको थाहा पाउन सकिन्छ ।
पछिल्लो समयमा शारीरिक अस्वस्थताले गर्दा गायनबाट टाढा रहेकी तारादेवी नशासम्बन्धी रोग पार्किन्शनबाट पीडित थिइन् । उनको यो रोगको उपचार देशविदेशमा पनि सम्भव भएन । १० वर्षति यही रोगका कारण थला परेकी तारादेवीको भौतिक शरीरले यस संसारबाट बिदा लिइसकेको छ । उनी २०६२ साल माघ ८ गते स्वर्गीय भइन् ।
यसरी जीवनमा केही सुखद् र धेरै कठिनाइपर्ूण्ा उकाली ओरालीहरु पार गरिसकेकी तारादेवीले एउटा यस्तो उचाई टेकीसकेकी छिन्, जुन उचाई सायदै कसैले लिन सक्ला ।
Posts Related to Tara Devi
Nepali women victims of prostitution and slavery in Arab countries
Hundreds of women emigrated for work to Kuwait, Iraq, Afghanistan and other Islamic countries, and have not been heard from for years. Those who succeed ...
Successful entrepreneur Savitri Devi Chaudhary
Program Micro-enterprise Development Programme (MEDEP) Within a span of three years, Savitri Devi Chaudhary holds important positions in the small business sector— she is an ...
Himani Rajya Laxmi Devi Shah
Former Crown Princess Himani Rajya Laxmi Devi Shah of Nepal was born in October 1, 1976 in Kathmandu. Himani is the wife of the former ...
Aruna Lama
Biography Aruna Lama was born on September 9, 1945 at Ghoom Pahar, Darjeeling, India to Surya Bahadur Lama and Sanmaya Lama. Her uncle C.B. Lama ...
Little smiles that tell the story !
Program Livelihood Recovery for Peace (LRP) The Livelihood Recovery for Peace (LRP)project has extended a direct grant support of Rs. 40 million through the Rural ...
Home
Contact Us
Sitemap 







