Home | Contact Us | Sitemap

यौन दुर्व्यवहारका घटनामा वृद्धि भएपछि सुरक्षा निकाय चिन्तित

मङ्गलवारे (इलाम), पुस २० – इलाममा यौन दुर्व्यवहारका घटना आश्चर्यजनकरूपमा बढेपछि यहाँको सुरक्षा निकाय चिन्तित भएको छ। जिल्ला प्रहरी कार्यालय इलाममा चालु आर्थिक वर्ष २०६९/७० को छ महिनामा आठवटा यौन दुर्व्यवहारका घटना जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका छन्। यौन दुर्व्यवहारका आठ घटनामध्ये चारवटा घटनामा बालिकाहरु नै सिकार बनेका छन्।गत आव २०६८/६९ मा जबर्जस्ती करणी र यौन दुर्व्यवहारका नौ मुद्दा प्रहरीमा दर्ता भएका थिए। प्रहरी नायब उपरीक्षक भीमबहादुर दाहालले भने, ‘यो वर्ष छ महिनामै गत वर्षको जति यौन दुर्व्यवहारका घटना प्रहरी कहा” आएका छन्, यसले यौन दुर्व्यवहारका घटना बढेको देखाएको छ।’

जिल्ला प्रहरी कार्यालयका अनुसार गत वर्षमा बालिका बलात्कार गरी हत्या गरेका इलाम सुलुबुङका युवराज लुम्रेमगर सर्वस्वसहित जन्मकैद भोगिरहेका छन्। गत आवमा बालिका र महिलामाथि जबरजस्ती करणी गर्ने सन्तोष सुनुवार दर्जी, तेजप्रसाद ढकाल, खगेन्द्र बस्नेत र तुफान राई पुर्पक्षका लागि थुनामा छन्।

यस्तै करणी मुद्दाकै आरोपित इलाम सिद्धिथुम्काका मनबहादुर सिञ्जाली फरार रहेको प्रहरीले जानकारी दिएको छ। यस्तै चालु आवको साउनदेखि पुस १७ गतेसम्ममा जबर्जस्ती करणी अभियोगमा थुनामा रत्नबहादुर तामाङ, अमृत फागो लिम्बु, अर्जुन लामगादे विक थुनामा परेका छन्।

त्यस्तै चुलाचुलीस्थित भानु मावि बुकुवाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धिबहादुर सम्वाहाम्फे, चमैताका आकाश राई र कुमार गुरुङ, दिलकुमार तामाङ र मनवीर एक्तेन पुर्पक्षका लागि थुनामा परेका छन्।

दिनप्रतिदिन महिला हिंसाका घटनामा वृद्धि भइरहे पनि नियन्त्रणका लागि ग्रामीण क्षेत्रसम्म सूचनाको विस्तार गर्नुपर्ने, जनचेतना अभिवृद्धि गर्नुपर्ने श्री दाहालको सुझाव छ। त्यसका लागि प्रहरी कार्यालयले स्थानीय एफएम रेडियोमार्फत सार्वजनिक सूचना प्रसारण गर्ने तयारी पनि गरेको छ।
यसैबीच महिला दिनप्रतिदिन बढिरहेको महिला हिंसाका घटना बढेको भन्दै नेपाल महिला सङ्घ मोरङ शाखाले चिन्ता व्यक्त गरेको छ।

सङ्घकी सभापति गीता सिलवालले महिलामाथि हुने यौन दुराचार, हत्या र हिंसाका घटनाले आफूलाई क्षुब्ध एवम् स्तब्ध बनाएको बताउँदै महिला सुरक्षाका लागि सरकारले ठोस कदम चाल्न आग्रह गरेकी छिन् ।

उनले सबै किसिमका महिला हिंसाप्रति सरकारको ध्यानाकर्षण गराउन जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र समेत बुझाइएको जानकारी दिँदै महिला हिंसामा आबद्ध कसैलाई पनि नछाड्न र कडा कारबाही गर्न सरकारसँग माग गरिन् ।

दिनहुँ भइरहेका महिलामाथि भइरहेका हिंसाका घटनाले महिलाहरु घरपरिवार वा समाज कुनै ठाउँमा पनि सुरक्षित नरहेको देखाउँछ, उनले भनिन् ।रासस

There are no posts related to यौन दुर्व्यवहारका घटनामा वृद्धि भएपछि सुरक्षा निकाय चिन्तित .

'