Home | Contact Us | Sitemap

यसरी रोकियो रक्तपात

 

माओवादीले काठमाडौंमा पहिलो आमसभा गर्दै थियो। त्यो पनि सैनिक मञ्चमा। आफ्ना कार्यकर्तालाई सैनिक मञ्चमा परेड खेलाउने र देशभरिबाट मान्छे ओसारेर टुँडिखेल ढाक्ने तयारी रहेछ।

प्रधानमन्त्री एवं रक्षामन्त्री गिरिजाप्रसाद कोइरालाले आमसभाको स्वीकृति दिनुभएछ। प्रधानमन्त्रीको लालमोहरकै भरमा सेनालाई यस्तो निर्णय मान्य हुने कुरा भएन। माओवादीले सेनाको छातीमा बुट बजारेको कुन सिपाहीलाई सह्य हुन्थ्यो र!

शान्ति सम्झौतापछि पनि राष्ट्रिय सेनाप्रति माओवादीको शत्रुतापूर्ण व्यवहार कायमै थियो। सैनिक मञ्चमा परेड खेलेर जितको सन्देश दिने माओवादी नियत मैले बुझेको थिएँ। यसमा सेनाको मनोबल घटाउने अभीष्ट लुकेको थियो।

हेडक्वाटरबाट बालुवाटार जान १५ मिनेट

लाग्थ्यो। मैले त्यति धैर्य गर्न सकिनँ। फोनमै आफ्नो अडान प्रधानमन्त्रीलाई सुनाइदिएँ। ‘प्रधानमन्त्रीज्यू, दिल्लीको लालकिल्लाभित्र कुनै पार्टीले आमसभा गरेको थाहा पाउनुभएको छ?’ मैले भनें। ‘मैले चिफसापको कुरा बुझिनँ’, उहाँले मसिनो स्वरमा भन्नुभयो। ‘टुँडिखेलमा राष्ट्रिय कार्यक्रमबाहेक कहिल्यै कुनै दलविशेषको आमसभा भएको छ?’ म झोक्किएँ।
उहाँले बुझिहाल्नुभयो। ‘शान्ति प्रक्रियामा आएकालाई किन चिढ्याउनु भनेर हुन्छ भन्दिएको हुँ’, प्रधानमन्त्रीले भन्नुभयो।

‘सेनाले राज्यका समारोहबाहेक दलको झन्डा बोक्ने कसैलाई सैनिक मञ्चमा पाइला टेक्न दिंदैन’, मैले आफ्नो निर्णय सुनाइदिएँ।

‘शान्ति र संविधानको कुरा छ। राष्ट्रिय सेनाले कसैप्रति प्रतिशोध राख्नुहुँदैन’, उहाँले मनाउन खोज्नुभयो, ‘सेना अलि सफ्ट भइदिनुपर्छ।’

‘सैनिक मञ्चमा बुट बजार्ने माओवादीको सपना मेरो लाशमाथि टेकेर मात्र सम्भव छ।’

‘ल त ल, आर्मीको नियम अनुसार गर्नुस्’, गिरिजाबाबुले फोन राखिदिनुभयो। मैले प्रधानमन्त्रीसँगको संवाद उच्च सैनिक अधिकारीहरूलाई सुनाएँ। भनें, ‘माओवादीले थाहा पाऊन्, यो संवाद लिक गरिदिनू।’

म र प्रधानमन्त्री कोइरालाबीचको कुराकानीले सबैतिर चर्चा पायो। माओवादीले आफ्नो तयारी भने रोकेनन्। पम्प्लेट टाँसे। दरबार ढलेको चित्र बनाए। सैनिक मञ्चमा पसेर राजपरिवार बस्ने आसन ध्वस्त पार्ने हल्ला चलाए। ‘लोकतन्त्र आइसकेपछि पनि सैनिक मञ्चमा कार्यक्रम गर्न नपाउने?’ उनीहरूका केही नेता हामीविरुद्ध खनिन थाले, ‘राजाको सेनाले जनतालाई टुँडिखेलमा निषेध गर्न पाउँदैन।’ . . .

. . . माओवादीले लाखौं जनताका साथ टुँडिखेल छिर्ने धम्की दिइरहेको थियो। पोस्टरिङ, पम्प्लेटिङ, माइकिङ गरेर प्रोपोगान्डा मच्चाइरहेको थियो। माओवादी दूत बनेर अनुमति माग्न आउनेलाई मेरो जवाफ हुन्थ्यो, ‘सैनिक मञ्च हाम्रो छाती हो। त्यहाँ पाइला टेक्नेलाई म आफैं सिपाहीको अग्रपंक्तिमा बसेर मेशीन गनले भुटिदिन्छु।’

माओवादी सभा हुनु केही दिनअघिदेखि नै सैनिक मञ्च वरिपरि फौज तैनाथ भयो। हामीले अघिल्लो दिन राति नै हातहतियारसहित सैनिक मञ्च घेर्‍यौं। महाँकालको पुरानो अस्पताल र मन्दिरको छतमा सिभिल पोशाकमा सेना खटायौं। सञ्चार सेट र सीसीटीभी जताततै जडान गर्‍यौं। केही भइहाले मानवअधिकारवादीदेखि अन्तर्राष्ट्रिय समुदायसम्मलाई देखाउन क्यामरा जडान जरुरी थियो।

अन्ततः माओवादी पछि हट्यो।

उनीहरूले सैनिक मञ्च टुँडिखेलको सट्टा खुलामञ्चमा आमसभा गरेर चित्त बुझाए। माओवादी अध्यक्ष प्रचण्डले खुलामञ्चबाट सैनिक मञ्चतिर धारे हात लाउँदै भन्नुभएको थियो, ‘को हो त्यो कटवाल भनेको?’

जे होस्, रक्तपात टर्‍यो।

अर्कोचोटि फेरि त्यस्तै घटना भयो। रामेछापका एकजना लप्टन २०६४ चैतमा घर गएका रहेछन्। त्यहीबेला माओवादीले उनलाई नियन्त्रणमा लिएछ। मैले तुरुन्त रक्षा मन्त्रालय समेत हेर्ने प्रधानमन्त्रीलाई फोन गरें, ‘माओवादीले हाम्रो अफिसर कब्जामा लिएका छन्। तुरुन्त छाड्न भन्दिनुपर्‍यो।’

गिरिजाबाबु माओवादीप्रति धेरै ‘सफ्ट’ हुनुहुन्थ्यो। उहाँ विषयान्तर गर्न खोज्नुहुन्थ्यो। म भने टसमस भइनँ। ‘माओवादीले सेनाको अफिसर नियन्त्रण गरेको घटना निकै गम्भीर हो’, मैले प्रधानमन्त्रीलाई मुखै फोरेर भनें, ‘हाम्रो मानिस तुरुन्त छाडून्, नत्र म माओवादी हेडक्वाटर ध्वस्त पार्दिन्छु।’

त्यतिबेला माओवादी मुख्यालय बुद्धनगरमा थियो। मुख्यालय हान्न सिंहदरबारमा रेन्जरसहित एक टुकडी फौज जम्मा गरें। माओवादी कब्जामा रहेका अफिसरलाई छुटाउन पूर्वको सम्बन्धित वाहिनीलाई ‘रेस्क्यु अपरेसन’ थाल्न निर्देशन दिएँ।

केहीबेरमै यो खबर संसारभर पुगेछ। राष्ट्रसंघ, दिल्ली जताततैबाट फोन आउन थाल्यो। मध्यस्थ गर्न खोज्नेलाई मैले भनिदिएँ, ‘म ज्यूँदो हुँदाहुँदै सेनाको कुनै सिपाहीलाई कसैले कोतर्न पनि पाउँदैन, खुरुक्क हाम्रो लप्टन छाड्छन् कि माओवादी केन्द्रीय कार्यालय ध्वस्त बनाइदिऊँ।’

माओवादी डराएछन्। केहीबेरमै हाम्रो लप्टन सकुशल छाडिएको खबर आयो। मैले फौज फिर्ता गरें। अर्को रक्तपात टर्‍यो।

खुला राजनीतिमा आएपछि माओवादीका चैते समर्थक बढ्दै थिए।

हिजो ‘आतंकवादीलाई पानी पिउन दिनुहुन्न’ भन्नेहरू रातारात प्रचण्डको टीका लगाउन थाले। त्यसमा राजनीतिभन्दा ‘जागिरे’ र ‘अवसरवादी’ पृष्ठभूमिवालाको बाहुल्य थियो। पूर्वजर्नेल, अञ्चलाधीश बनेर ज्यादती गरेका, प्रहरीमा बसेर अवसर छोप्दै हिंडेका तथा पूर्वसचिवहरू रङ बदल्दै माओवादी बनेको खबर सुन्न पाइन्थ्यो। दरबारका आसेपासे भएर र सुरक्षा फौजमा बसेर सहुलियत तथा मानमर्यादा पाएकामा पनि माओवादी बन्ने लहर चल्यो। बहालवाला उच्च अधिकारी माओवादीसँग नजिक हुन तँछाडमछाड गर्न थाले। विशेषगरी प्रहरी र निजामतीका हाकिमको प्रचण्ड निवासतिर ‘मर्निङ वाक्’ बढेको सूचना मसँग थियो।

नयाँ जोगीहरू माओवादीभन्दा बढी खरानी घस्थे। माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएपछि त तिनलाई संसारै जिते जस्तो भयो। प्रचण्डको शपथग्रहण कार्यक्रममा उनीहरूले मेरो नूर गिराउने चेष्टा गरे।

प्रधानमन्त्रीको शपथग्रहण शीतलनिवासमा थियो। तयारीबारे बुझ्न म आफै शीतलनिवास गएँ। यस्तो समारोहमा कुर्सी व्यवस्थापनको आफ्नै तौरतरिका हुन्छ। राष्ट्रपतिको दायाँ गिरिजाप्रसाद कोइराला, बायाँ उपराष्ट्रपति परमानन्द झा। त्यसको दायाँ–बायाँ प्रधानन्यायाधीश, सभामुख लगायत सम्माननीय रहन्छन्। राष्ट्राध्यक्षको ठ्याक्कै पछाडि प्रमुख एडीसीलाई राखिन्छ। उनलाई बायाँ पारेर प्रधानसेनापति बस्ने चलन छ। संसद्काल, पञ्चायतकाल सधैंको परम्परा यही हो। प्रचण्डको शपथग्रहण समारोहमा पनि त्यसैगरी बस्ने व्यवस्था मिलाइएको थियो। शशिभवन फर्केर हातमुख धुन नपाउँदै फोनको घन्टी बज्यो। ‘चिफसाप नमस्कार, म मन्त्रिपरिषद्बाट।’

‘किन? भन्नुस्’, मैले सोधें।

‘शपथग्रहण समारोहमा सेनाको चहलपहल नदेखियोस् भन्ने हुनेवाला प्रधानमन्त्रीको चाहना छ। त्यही अनुसार गर्दिनुभए हुन्थ्यो’, उसले भन्यो।

‘तपार्इं धन्दा नमान्नुस्, परम्परा जे छ त्यही हुन्छ’, मैले कुरा टुंग्याइदिएँ। मेरो जवाफले सुरक्षा निकायमा हल्लीखल्ली मच्चिएछ। ‘माथिको इच्छा हजुरको कुर्सी मञ्चमा हुनुहुन्न भन्ने छ’, उहाँले भन्नुभयो।

मैले पुरानै जवाफ दोहोर्‍याएँ। लगत्तै गृहसचिव, रक्षासचिवबाट फोन आयो। उहाँहरूले पनि त्यही अनुरोध गर्नुभयो। . . .

. . . म शपथग्रहणको केही समयअगावै शीतलनिवास पुगें। केही गडबड भए दोषजति सेनाकै टाउकोमा थोपरिन्थ्यो, त्यसैले बढी सतर्क थिएँ।

त्यहाँ त के देख्छु, प्रधानसेनापतिको कुर्सी यथास्थानमा छैन। सुरक्षामा खटिएका सिपाहीहरूलाई सोधें। नराख्नू भन्ने आदेश आएपछि हटाइदिएछन्। झोंक त निकै उठ्यो, तर छुच्चो भइनँ। चुपचाप विशिष्टहरूको हारमा बसें। उद्घोषकले समारोह सकिएको घोषणा गरेपछि प्रधानमन्त्रीलाई बधाई दिनेको लाम लाग्यो।

जुन मञ्चबाट प्रधानसेनापतिको कुर्सी हटाइयो, त्यही मञ्चमा लुब्रेकान लगाएर किन गइराख्ने!

म नगएपछि अरू जर्नेल गएनन्। जर्नेल नगएपछि प्रहरीका वरिष्ठ अधिकृत पनि गएनन्। हामी सोझै ‘टी स्टल’ तिर लाग्यौं। त्यहीं डा. प्रकाशचन्द्र लोहनीसँग भेट भयो। हङकङदेखि हाम्रो सम्बन्ध थियो। ‘चिफसाप, होश पुर्‍याएर काम गर्नू है’, उहाँले भन्नुभयो।

‘ह्वाट्स रङ?’ मैले सोधें।

‘भर्खरै मिस्टर क्लाउड (हुनेवाला रक्षामन्त्री रामबहादुर थापा ‘बादल’) र मसँगै थियौं’, उहाँले हाँसीहाँसी भन्नुभयो। ‘अब कटवाललाई पाता फर्काउने बेला आयो’, उहाँले थापाको भनाइ उद्धृत गर्नुभयो।

‘ए भैहाल्छ नि, सनपाटको मोटो डोरी बाटेर पठाइदिऊँला’, मैले जवाफ दिएँ। . . . . . . एक माओवादी सभासद् र कांग्रेसका पूर्वमन्त्री म भएठाउँ आइपुगे।

‘चिफसापले प्रधानमन्त्रीलाई बधाई नै दिनुभएन भनेर हाम्रोमा हल्लीखल्ली मच्चिएको छ’, मसँग ओहोरदोहोर गरिरहने ती माओवादी सभासद्ले भने, ‘उसै त हुनेवाला रक्षामन्त्रीले कटवाललाई पाता कसेर लडाउँछौं भनेका छन्, हजुर चाहिं…।’

मैले नबुझेजस्तो गरें, ‘को हुनेवाला रक्षामन्त्री?’

ती कमरेडले भने, ‘बादल हजुर।’

‘बादल–सादल चिन्दिनँ’, म कड्किएँ, ‘मलाई पाता फर्काउने हिम्मत भएको कोही ज्यूँदो छ भने सनपाटको बीसहाते डोरी मै बाटेर दिऊँला, तपार्इंको मिस्टर क्लाउडलाई यही भन्दिनू।’

वैधानिक, अवैधानिक जस्तो हतकण्डा अपनाए पनि प्रचण्ड प्रधानमन्त्री भइसक्नुभएको थियो। सेनाले जनमतको कदर गर्नै पर्थ्यो। रुकमाङ्गदलाई जति जब्बर हुने छूट प्रधानसेनापतिलाई थिएन। भोलिपल्ट म सेनाका तर्फबाट प्रधानमन्त्रीलाई बधाई दिन जाने भएँ।

‘पौने चार बजेको समय छ’, सचिवालयका कुनै अधिकृतले मलाई खबर दिए। म जहाँ पनि निर्धारित समयभन्दा पाँच/दश मिनेट पहिल्यै पुगेको हुन्छु। समयभन्दा अगाडि नै प्रधानमन्त्रीको चेम्बर बाहिर पुगें। मलाई सरासर भित्र लगे। म आगन्तुक भेट्ने कोठामा बस्न नपाउँदै प्रधानमन्त्री आइहाल्नुभयो। ‘बधाई’, मैले प्रधानमन्त्रीलाई सलाम गरें।

उहाँले कसेर हात मिलाउनुभयो। ‘बस्नोस् न चिफसाप’, कुर्सीतिर देखाउनुभयो। ‘शीतलनिवासमा भेट भएन नि’, मसँग आँखा नजुधाई भन्नुभयो, ‘के भयो त्यस्तो?’

‘नआउनू भनेर काँडाको बार लगाएपछि किन आउनू!’ मैले जवाफ दिएँ, ‘सेनाको कोही पनि देखा नपर्नू भन्ने आदेश रहेछ। तपाईंहरूलाई किन खिन्न बनाइदिनू भनेर आदेश पालना गरें।’

‘कसले नआउनू भन्यो?’ प्रधानमन्त्री अझ् विनम्र हुनुभयो, ‘मलाई किन खबर गर्नुभएन?’

‘जे हुनु भैगयो, हिजोको शपथग्रहणको कुरा बिर्सिऊँ’, उहाँले भन्नुभयो, ‘मलाई साह्रो–गाह्रो परेको छ, सहयोग गर्नुपर्‍यो।’

‘नेपाली सेनाले गर्ने हर वैधानिक सहयोग गरिहाल्छु’, मैले भनें।

‘चीनबाट निम्तो आएको छ, जाने इच्छा छ। नजानू भनेर देशी–विदेशी र हाम्रै मन्त्रीहरूको प्रेसर छ। के गर्ने होला! खुलस्त सल्लाह चाहियो।’

मेरो मन जाँच्न यस्तो जिज्ञासा राख्नुभएको हो वा साँच्चिकै हो, ठम्याउन सकिनँ। ‘तपार्इं जे भन्नुहुन्छ, त्यही गर्छु’, उहाँको भनाइ थियो।

‘तपाईं सार्वभौम राष्ट्रको निर्वाचित प्रधानमन्त्री हो कि होइन? जनताद्वारा निर्वाचित प्रमुख कार्यकारी हो कि हैन? निर्णय लिन स्वतन्त्र हुनुहुन्छ कि हुनुहुन्न?’ मैले प्रश्न गरें।

‘बकाइदा छु।’

‘त्यसो भए कसैले दबाब दिंदैमा किन न

जाने? तपार्इं ढुक्क भएर जानुस्।’

‘सेनाले यो भ्रमणको विषयमा मलाई स

हयोग

गर्छ त?’ उहाँले भर खोजे जस्तो गर्नुभयो।

‘यस्तो विषयमा नेपाली सेनाले तपाईंका लागि ढाड थाप्छ।’

‘चीनबाट भ्रमण शुरू गर्दा राम्रो देखिंदैन कि!’ उहाँले बल्ल कुरा खोल्नुभयो। ‘ओलम्पिकको कार्यक्रममा चीन जान लागेको सबैले बुझिहाल्छन् नि’, मैले आश्वस्त पार्न खोजें, ‘जहाँबाट पहिला निमन्त्रणा आयो, त्यहीं जाने न हो। त्यसमा कसैले चित्त दुखाउँछ, इख लिन्छ जस्तो मलाई लाग्दैन।’

‘गए हुन्छ हैन त चिफसाप?’ एकछिनपछि फेरि पुरा

नै प्रश्न सोध्नुभयो।

‘जानुस्, यसमा जे परे पनि सेना प्रधानमन्त्रीलाई बोक्न तयार छ।’

‘ल त चिफसाप त्यसो भए म चाइना गएँ है’, उहाँले भन्नुभयो।
————————————————————–

(हिमालमा छापिएको पुस्तकांश)

'