Home | Contact Us | Sitemap

महिला हिंसाको छाँयामा रहेको महिला दिवस

नेपालमा महिला दिवसको औचित्य:

महिलाहरू भन्नाले आमा, दिदी बहिनी, श्रीमती आदि नाताहरू बुझिन्छ । हाम्रो समाज पुरुषप्रधान भएको यथार्थ नकार्न सकिन्न । नेपाली समाज विशेषतः दुर्गम र गाउँहरूमा पुरूषहरूको हालीमुहाली चल्ने गरेको छ । पुरूषहरूद्वारा महिलाहरू शारीरिक र मानसिक दबाबमा पारिएका छन् । जानेर वा नजानेर नेपालमा हरेक १० महिलामा १ महिला हिंसा/ दमनको सिकार हुनेगरेको तथ्यांक एक अध्ययनले देखाएको छ । यस तथ्यांकले पनि नेपालमा महिलाहरूमाथि हुने गरेको हिंसा छताछुल्ल पारिदिएको छ ।
महिलाहरूलाइ ‘अवला’ भन्ने विशेष शब्दको प्रयोग हाम्रो समाजमा गरिन्छ । यस शब्दको अर्थ कमजोर हुन्छ । महिला अवला होइनन्, उनीहरूलाइ अवला पारिएको हो । महिलालाइ चुलोचौका, पानीपँधेरो, घाँस दाउरामा मात्र सीमित राख्ने काम यो समाजले सिकाएको हो , न कि कुनै धर्मले वा कुनै भगवान वा कुनै वेदले । सामाजिक रीतितिथि तथा संस्कार महिलाका लागि अभिसाप सावित भएको छ । महिलामैत्री संस्कार यहाँका समाजको नियम जानकारहरूद्वारा तयार पारिएका पृष्ठहरूमा पाँइदैन ।
समाजका हरेक क्षेत्र चाहे त्यो राजनीति, पेशा, विकास निर्माण, शिक्षा वा यातायात वा स्वयम् घरमै किन नहोस् महिलाले दमन खेप्नुपरेको छ । महिला दमन समाजका शिक्षित वर्गबाटै घटिरहेको छ ।

महिला दमन/हिंसाका केही उदाहरणः

महिला हिंसाका उदाहरण खोज्न कुनै किताब पल्टाइरहन जरूरी छैन । यहाँ हरेक पाइला पाइलामा महिला हिंसा पाइन्छन् । तपाँइको घरमा छोरी मान्छेले नै सायद तपाँइकै आमा, दिदी बहिनी वा श्रीमती माथि हिंसा घटिरहेको हुन सक्छ । चाहे प्राकृतिक रजस्वाला हुँदा किन नहोस् वा चाहे सामान्य खाना पकाउँदा वा चाहे पढाइमा यहाँ महिलालाइ दमन गरिन्छ ।
छोरा मान्छेलाइ भन्दा छोरीलाइ शिक्षामा कम प्राथमिकता दिने, घरायसी कामकाजमा छोरीलाइ दलाउने , रजस्वाला हुँदा चुलोमा पस्न नदिने यी सबै महिला हिंसाको दुरूष्ट उदाहरणहरू हुन् । समाज नै यस्तै छ । त्यही समाजमा रहनसहन गर्ने कुनै परिवार यसबाट मुक्त रहन पनि गार्है छ । यस समाजलाइ मिहिनेती छोरीभन्दा कुलाँगार छोरो नै मनपर्छ । मिहिनेती छोरीलाइ प्रश्न उठाउन सक्ने यो समाज कुलांगार छोरोमाथि भने जस्तै कुकार्यमा पनि प्रश्न उठाउने हिम्मत गर्दैन । कारणः उही छोरोको हेरचाहमा बस्नु छ बुढेसकालमा । छोरी भनेको जात त अरूको घरमा पठाउने नासोका रूपमा बुझेको छ यो समाजले ।
आज २१ औं शताब्दीसम्म आइपुगेका हामी अझै पनि छोराछोरी माथि भेदभाव गर्छौं । घरमा नव-सन्तानको जन्म हुँदा कमैले मात्र छोरीको अपेक्षा गरेका हुन्छन् । भिडियो एक्स रे मार्फत बच्चाको लिंग थाह पाउने र छोरी भएको खण्डमा नवजात शिशुको गर्भमै हत्या गर्ने ‘भ्रुणहत्या’ सम्मका उदाहरण पाइन्छन् यहाँ । त्यो विचरा बच्चाको के दोष ? संसार देख्न् नपाइ उसले मृत्युको शिकार हुनुपरेको छ । छोरीको जन्मपश्चात उसले यस समाजमा अनेक कुरीति अन्धविश्वास विरूद्ध लडेर जीउन बाध्य पारिदिएको छ यो समाजले । छोरीको लागि यो समाज भयरहित बन्न सकेको छैन ।
महिलाले दैनिक सास्ती र यौन दुर्व्यवहार भोग्नुपरेको सावर्जनिक गाडीमा हो । सार्वजनिक गाडी महिलाको लागि “नखाउँ त दिनभरीको सिकार, खाँउ त कान्छा बाउको अनुहार” जस्तै भएको छ । सार्वजनिक गाडीबाट दिनहुँ आवतजावत गर्ने महिलाहरू विभिन्न यौनजन्य दुर्व्यवहारबाट ग्रसित हुनुपरेको छ । उनीहरूको हात समाउन खोज्ने, इसारा गर्ने र संवेदनशील अंग छुन खोज्ने सम्मको हर्कत बाट मुक्त छैनन महिलाहरू । सार्वजनिक गाडीमा महिलाको लागि सिट आरक्षण गरिएको भए पनि त्यस्ता सिटमा पुरूषहरू छाती फुलाएर साइडमा उभिएकी महिलालाइ वास्तै नगरी बसेका हुन्छन् । यस्ता हिंसाबाट महिलाले कहिले न्याय पाउने ? आफ्नो संवेदनशील अंग हुनुकै नाताले पीडित बन्नुपरेको छ यहाँ महिलाले । दिवा समयमा नै यस्ता घटनाहरूले प्रश्रय पाएका छन् भने रात्री समयमा त महिलाको लागि कर्फुयु नै लगाएको छ यो समाजले ।
सामाजिक क्षेत्रभन्दा पर राजनीतिक, राष्ट्रिय स्तरमा नि दमन गरिएको छ महिलामाथि । अहिलेसम्म महिला प्रधानमन्त्री बन्न नसक्नु पनि हाम्रो लागि ठूलो बिडम्बना हो । ३३% अधिकारको लागि जतिसुकै चर्को आवाज घन्काए पनि यस यथार्थमा लागू हुन भने सकेको छैन । अरू त अरू देशको मूल कानुन बनाउने संविधानसभामा समेत ३३% महिलाको प्रतिनिधित्व हुन सकेको छैन । दोस्रो संविधानसभामा महिलाको प्रतिनिधित्व २९% (२६ मनोनित बाहेक) रहेका छन्। देशको मूल राजनीतिक पार्टीहरूमा नै महिला नेतृको संख्या औंलामा गन्न सकिने अवस्थामा मात्र रहेका छन् ।

अब यहाँबाट कहाँ त ?

महिलाहरूको अघिकार संरक्षण गर्न तथा महिला दिवस मनाउन विभिन्न संगठन, निकायहरू नखोलिएका हैनन् । उनीहरू राजनीतिक/आर्थिक लोभबाट टाढा रहन सकेका भए सायद उनीहरूले आफ्नो उद्देश्य पूर्ति गर्न पनि सक्ने थिए । ती संगठनहरूले सुगम क्षेत्रमा मात्र नभइ दुर्गम क्षेत्रमा पनि आफ्नो कार्यक्षेत्र विस्तार गर्नसक्नुपर्छ । काठमाण्डौका चिल्ला सडकमा महिला दिवस र अधिकारका बारेमा नारा घन्काउने महिला अधिकारकर्मीहरू अछामको महिला हिंसाबारे अनविज्ञ छन् भन्दा अचम्म नमाने हुन्छ । महिला हिंसाको छानविन गर्न महिला आयोगको गठन भएपनि उक्त आयोगले संवैधानिक आयोगको मान्यता भने पाउन सकेको छैन । चुनावमा भोट तान्न कै लागि महिला अधिकारको मुद्दालाइ आफ्नो भाषणको खुराक रूपमा प्रयोग गर्ने नेताहरूको नाम यहाँ सायदै नअट्ला । महिलालाइ घरमा थुनेर साँचो जनैमा झुन्ड्याएर मञ्चमा महिला अधिकारका बारे चर्को भाषण छाँट्ने नेताहरू नि हाम्रै देशमा रहेका छन् ।
तसर्थ महिला दिवसको सही उपयोग र महिला अधिकारको रक्षा गर्न अब कोही एकजना दुइजना हैन, पुरै समाज गाउँ, सहर देश नै लागिपर्नु जरूरी छ । आउनुस सबै पुरूष र महिला मिलेर भनूमः

“समानता महिलाको लागि

प्रगति सबैको लागि । ”

:-Shilan’s

There are no posts related to महिला हिंसाको छाँयामा रहेको महिला दिवस .

'