Home | Contact Us | Sitemap

उद्योगहरूमा महिला मजदुरको संख्या बढ्दै

विनोद घिमिरे/ विराटनगर, भदौ ११ । वैदेशिक रोजगारमा युवाहरूको आकर्षण बढेपछि आजभोलि उद्योगहरूमा महिला कामदारको संख्या बढन् थालेको छ । सुनसरी र मोरङमा रहेका उद्योगहरूले पुरुष कामदारको अभाव टार्न धमाधम नयाँ महिलाहरूलाई तालिम दिएर काममा लगाउन थालेपछि महिला मजदुरहरूको संख्या बढेको हो । उद्योगहरूले मजदुर अभाव भएपछि सुनसरी र मोरङका ग्रामीण तथा सहरी क्षेत्रबाट मजदुरलाई उद्योगसम्म ल्याउने–लैजाने यातायातको समेत व्यवस्था गर्न थालेका छन् । ‘उद्योगहरूमा महिला कामदार भरपर्दा र किफायती पनि हुने गरेको पाइयो’, जुट उद्योगी राजकुमार गोल्छाले भने । महिला मजदुरहरू कामप्रति जवाफदेही हुने गरेको र नियमितसमेत हुने गरेको गोल्छाले बताए ।

मोरङ–सुनसरी औद्योगिक करिडोरअन्र्तगत सोनापुरमा रहेको जुट उद्योग ‘अरिहन्त मल्टिफाइवर्स’ ले दुई वर्षभित्र उद्योगमा तीन हजारभन्दा बढी महिला कामदारलाई दक्ष बनाएर रोजगार दिने योजना नै बनाएको छ । त्यहाँ रहेका चार हजार मजदुरमा हाल १ हजार ५ सय महिला मजदुर कार्यरत छन् । उद्योगका प्रवन्ध निर्देशक गोविन्द बजगाईंले भने, ‘पुरुष कामदारको अभाव भएपछि नयाँ महिला कामदारलाई एकदेखि दुई महिना तालिम दिएर काममा लगाउने गरेका छौं ।’ उनले सुनसरीको धरान, इनरुवा, इटहरी, लौकही, हरिनगरदेखि मोरङको विराटनगरअसापास र भारत जोगबनीदेखिका महिला कामदारले दैनिक सिङ्खटअनुसार काम गर्ने गरेका छन् । महिला कामदारका लागि आवतजावतमा सहज बनाउन उद्योगले हरेक सिङ्खटमा लान–ल्याउन बसको व्यवस्था गरिदिएको प्रवन्धक बजागाईंले बताए ।

‘महिला कामदारहरू पुरुषहरूभन्दा बढी मेहनती र ड्युटीमा नियमित हाजिर हुने गर्दा रहेछन्, यसले गर्दा उद्योगमा पुरुष कामदार खोज्नुभन्दा बेरोजगार महिलाहरूलाई दक्ष बनाएर रोजगार दिनु नै उत्तम ठान्यौं ।’ नेपाल जुट उद्योग व्यवसायी संघका अध्यक्षसमेत रहेका उद्योगी राजकुमार गोल्छाले बताए । गोल्छाले विराटनगरस्थित रघुपति जुटमिलमा रहेका ३५ सय कामदारमध्ये १३ सय महिला कामदार नियुक्त गरिसकेको बताए । उनले भने, ‘जुट उद्योगका सबै सेक्टरमा महिला कामदारले दक्षतापूर्वक काम गर्न सकेका छन्, पुरुष र महिलामा कुनै फरक पाएनौं ।’ महिलाहरू धुम्रपान, मद्यपानमा लिप्त नहुने र आङ्खनो कामको सुरक्षामा बढी चासो दिने भएकाले पुरुषले भन्दा राम्रो आम्दानी गर्ने गरेका छन् । जुट उद्योगहरूले महिलाहरूलाई ज्यालादारीमा काम लगाउने भएकाले उनीहरूले मेहनत गर्दा दैनिक पाँच सय रूपैयाँसम्म कमाइ गर्ने गर्दछन् ।

गोल्छा अर्गनाइजेसनले उद्योगमा महिला कामदारलाई प्रोत्साहित गर्न सुरु गरेपछि अन्य उद्योगहरूले पनि महिला कामदारलाई प्रोत्साहित गर्न थालेका छन् । अरिहन्त मल्टिफाइवर्स उद्योगका प्रवन्धक गोविन्द बजगाईंले महिला कामदारलाई प्रोत्साहन दिएपछि उत्पादनमा पनि सुधार भएको बताए । उनले भने, ‘पुरुषहरू बढी गयल हुने र मन लगाएर काम नगर्दा उत्पादन खस्कँदो अवस्थामा थियो, तर महिला कामदार बढेपछि सुधार भएको छ । उनका अनुसार घरसम्मै लाने–ल्याउने यातायातको व्यवस्था भएपछि उद्योगमा काम गर्न महिला कामदारहरूको आर्कषण बढेको छ । हाल अरिहन्तमा विदेश गएर आएका एक सयभन्दा बढी महिलाहरू काम गरिरहेका छन् । उद्योगमा १८ देखि ३५ वर्षसम्मका महिलाहरूले काम गर्न चासो देखाउने गरेका छन् ।

अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य तेजलाल कर्णले केही कठिन श्रम गर्नुपर्ने फलामे उद्योगबाहेक प्राय सबैमा महिला कामदारलाई तालिम दिएर रोजगारी दिन सकिने बताए । उनले भने, ‘तर उद्योगलाई महिलामैत्री बनाउन उद्योगीले मात्र हैन, सरकारले पनि चासो दिनुपर्छ ।’

There are no posts related to उद्योगहरूमा महिला मजदुरको संख्या बढ्दै .

'